unfoldingWord 38 - येशूलाई धोखा
Grandes lignes: Matthew 26:14-56; Mark 14:10-50; Luke 22:1-53; John 18:1-11
Numéro de texte: 1238
Langue: Nepali
Audience: General
Objectif: Evangelism; Teaching
Caractéristiques: Bible Stories; Paraphrase Scripture
Statut: Approved
Les scripts sont des directives de base pour la traduction et l'enregistrement dans d'autres langues. Ils doivent être adaptés si nécessaire afin de les rendre compréhensibles et pertinents pour chaque culture et langue différente. Certains termes et concepts utilisés peuvent nécessiter plus d'explications ou même être remplacés ou complètement omis.
Corps du texte
हरेक वर्ष, यहूदीहरूले निस्तार चाड मनाउने गर्दथे । यो एक उत्सव थियो जुन कैयौँ शताब्दीअघि कसरी परमेश्वरले उनीहरूका पुर्खाहरूलाई मिश्रदेशको दासत्वबाट बचाउनुभएको थियो भन्ने सम्झनामा मनाइने गरिन्थ्यो । येशूले पहिलो पटक खुलारूपमा प्रचार र शिक्षा दिन थाल्नुभएको करिब तीन वर्षपछि, उहाँले आफ्ना चेलाहरूलाई उनीहरूसँग येरूशलेममा निस्तार चाड मनाउन चाहनुभएको कुरा भन्नुभयो, अनि यो पनि भन्नुभयो कि उहाँ त्यहाँ मारिनुहुनेथियो ।
येशूका चेलाहरूमध्ये यहूदा नाउँ गरेका एकजना मानिस थिए । यहूदा चेलाहरूका पैसाको थैलीको जिम्मेवाल थिए, तर उनी पैसालाई प्रेम गर्दथे र अक्सर थैलीबाट पैसा चोर्ने गर्दथे । येशू र चेलाहरू येरूशलेममा आइपुग्नुभएपछि, यहूदा यहूदी अगुवाहरूकहाँ गए र पैसा लिएर येशूलाई धोका दिने प्रस्ताव राखे । यहूदी अगुवाहरूले येशू मसिह हुनुहुन्छ भनी अस्वीकार गर्थे र उहाँलाई मार्ने षडयन्त्र रचिरहेका थिए भन्ने कुरा उसलाई थाहा थियो ।
प्रधान पूजाहारीको नेतृत्वमा, यहूदी अगुवाहरूले येशूलाई विश्वासघात गर्नको निम्ति यहूदालाई तीस वटा चाँदीका सिक्काहरू दिए । अगमवक्ताहरूले भविष्यवाणी गरेजस्तै गरी यो कुरा हुनआयो । यहूदाले यस कुरामा मञ्जुर गरे, पैसा लिए, र त्यहाँबाट गए अनि येशूलाई पक्रन सहायता गर्नको निम्ति मौकाहरू खोज्न थाले ।
येरूशलेममा, येशूले आफ्ना चेलाहरूसँग निस्तार चाड मनाउनुभयो । निस्तार चाडको भोजको समयमा, येशूले केही रोटीहरू लिनुभयो र त्यसलाई भाँच्नुभयो । उहाँले भन्नुभयो, “यो लेओ र खाओ । यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । यो मेरो सम्झनामा गर्ने गर ।” यसप्रकारले, येशूले भन्नुभयो, कि उहाँको शरीर उनीहरूका निम्ति बलिदान हुनेछ ।
अनि येशूले कचौरा लिनुभयो र भन्नुभयो, “यो पिओ । यो नयाँ करारको मेरो रगत हो, जुन पाप क्षमाको निम्ति बहेको छ । तिमीहरूले हरेकपटक यो पिउँदा मेरो सम्झनामा गर्ने गर ।”
त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये एकजनाले मलाई धोखा दिनेछौ ।” चेलाहरू छक्क परे, र कसले त्यस प्रकारको काम गर्छ भनी सोधे । येशूले भन्नुभयो, “जसलाई म रोटीको यस टुक्रा दिन्छु, त्यो नै विश्वासघाती हो ।” अनि येशूले त्यस रोटीको टुक्रा यहूदालाई दिनुभयो ।
यहूदाले रोटी लिएपछि, शैतान ऊभित्र पस्यो । यहूदा त्यहाँबाट निस्केर येशूलाई पक्राउन सहायता गर्नको निम्ति यहूदी अगुवाहरूकहाँ गए । त्यो रातको समय थियो ।
भोजनपछि, येशू र उहाँका चेलाहरू हिँड्दै जैतून डाँडामा जानुभयो । येशूले भन्नुभयो, “तिमीहरूले आज राती मलाई त्याग्नेछौ । जसो लेखिएको छ, ‘म गोठालोलाई प्रहार गर्नेछु र सबै भेडाहरू तितर-वितर हुनेछन् ।’”
पत्रुसले जवाफ दिए, “अरु सबैले तपाईंलाई त्यागेता पनि, म त्याग्नेछैन!" तब येशुले पत्रुसलाई भन्नुभयो, "दियावलसले तिमिलाई बहकाउन चाहन्छ, तर मैले, पत्रुस, तिम्रो विश्वास नडगमगाओस भनेर तिम्रो निम्ति प्रार्थना गरेको छु ।" तरै पनि आज राति, भाले बास्न अगि, तिमिले मलाई ३ पल्ट चिन्दिन भनेर इन्कार गर्नेछौ ।
अनि पत्रुसले येशूलाई भने, “म मर्नुपरेतापनि, म कहिल्यै तपाईंलाई इन्कार गर्नेछैन!" अरु सबै चेलाहरुले पनि त्यसै भने।
अनि येशू उहाँका चेलाहरूसँग गेतसमनी भनिने ठाउँमा जानुभयो । येशूले उहाँका चेलाहरूलाई परीक्षामा नपरून् भनी प्रार्थना गर्न भन्नुभयो । अनि येशू आफैँ प्रार्थना गर्न जानुभयो ।।
येशूले तीन पटक प्रार्थना गर्नुभयो, “हे पिता, सम्भव छ भने, कृपया मलाई यस कचौराको कष्ट पिउन नपरोस् । तर मानिसहरूका पाप-क्षमाको निम्ति त्यहाँ अरू कुनै बाटो छैन भने, तपाईंको इच्छा पूरा भएको होस् ।” येशू धेरै विचलित हुनुहुन्थ्यो र उहाँका पसिना रगतका थोपाझैँ थिए । परमेश्वरले स्वर्गदूतलाई उहाँकहाँ शक्ति दिनलाई पठाइदिनुभयो ।
प्रार्थनाको समयपछि, येशू उहाँका चेलाहरूकहाँ फर्किआउनुभयो, तर उनीहरू निदाइरहेका थिए । जब उहाँ तेस्रोपटक फर्कनुभयो, येशूले भन्नुभयो, “उठ! मलाई धोका दिने यहि छ।"
यहूदी अगुवाहरू, सैनिकहरू र तरवार र लाठो बोकिरहेका ठूलो भीडको साथमा यहूदा आए । उनी येशूकहाँ आएर भने, “प्रणाम, गुरूज्यू,” अनि उहाँलाई चुम्बन गरे । यो यहूदी अगुवाहरूलाई उनीहरूले कसलाई पक्रनुपर्ने हो भनी ठम्याउनको निम्ति संकेत थियो । अनि येशूले भन्नुभयो, “यहूदा, के चुम्बनले तिमी मलाई धोखा दिन्छौ ?”
जब सेनाहरूले येशूलाई पक्रे, पत्रुसले तरवार निकाले र प्रधान-पूजाहारीको एकजना नोकरको कान काटिदिए । येशूले भन्नुभयो, “तरवार परै राख! म आफ्ना पितालाई स्वर्गदुतका पल्टन मेरो निम्ति पठाइदिन बिन्ति गर्न सक्छु, र उहाँले तुरुन्तै गर्नु हुनेछ तर मेले मेरो पिताको आज्ञा पालन गर्न पर्छ।" येशुले त्यो मानिसको कान निको पार्नुभयो। तब सबै चेलाहरु भागे।